१६ पुस ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता अरुण घिसिङले पुनर्गठित नेकपा माओवादी केन्द्रमा रहेर राजनीतिक जीवन अघि बढाउने बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी पूर्व वाइसिएलका केन्द्रीय सचिव समेत रहेका युवा नेता घिसिङले गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रमा रहेर राजनीति गर्ने बताएका हुन् ।
दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, विभिन्न चरणमा भएका जनपक्षीय आन्दोलन र संविधानको मर्म विपरीत नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेशको नामाकरण र राजधानी तोक्ने लगायतका पहिचान विरोधी कार्य गरेको भन्दै घिसिङले नेवा–ताम्सालिङ क्षेत्रमा विद्रोह हुने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘प्रदेश नं. ३ को स्थायी राजधानी र प्रदेशको नामाकरण निर्णय गरेर ह्वीप जारी गर्नु पहिचान विरोधी अपराध हो,’ घिसिङले विज्ञप्तिमा लेखेका छन्, ‘ दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, विभिन्न चरणमा भएका जनपक्षीय आन्दोलनको ऐतिहासिक कार्यदेश विपरीत हो । यदि यो निर्णय प्रदेश सभाले लागू गरेमा नेवा–ताम्सालिङ क्षेत्रमा जनविद्रोह सुनिश्चित छ ।’
हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूभाग समेटको विषयमा नेकपाले ठोस पहल नगर्नु, राष्ट्रियताको सवालमा लम्पसार प्रवृत्ति देखा परेको भन्दै घिसिङले नेतृत्वमा देखिएको राजनैतिक, वैचारिक तथा साँस्कृतिक विचलनले समग्र वर्गमुक्ति आन्दोलनलाई क्षति पु¥याएको आरोप लगाएका छन् ।
नेकपाले अख्तियार गरेको नीति राष्ट्र र जनताको हित विपरीत रहेको उनले विज्ञप्तिमा उललेख गरेका छन् ।