लुम्बिनीका प्रदेश प्रमुख मुख्यमन्त्रीकाे मुकाम पुगेर गराए पाेखरेललाई सपथ

मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक

२० बैशाख ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया र निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेकोे बताएका छन् ।

बहुमत सांसदहरुले हस्ताक्षरसहितको निवेदन दिई भौतिक रुपमै प्रदेश प्रमुख समक्ष उपस्थित हुँदाहुँदै अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरेकाे भन्दै अध्यक्ष प्रचण्डले विज्ञप्तिमार्फत् यस्तो बताएका हुन् ।

अविश्वासकाे प्रस्ताव सामना नगरी अल्पमतमा रहेको मुख्यमन्त्री शंकर पाेखरेलले पदबाट राजीनामा दिई विशेष अधिवेशनको काम कारबाहीलाई अवरुद्ध गरेकाे पनि विज्ञप्तिमा उल्लेख छ ।

“अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ,” विज्ञप्तिमा भनिएको छ, “उक्त असंवैधानिक र अलोकतान्त्रिक निर्णयको हामी निन्दा गर्दछौं । प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं ।”

प्रदेश प्रमुखको कार्यालय अघि नाराबाजी र घेराउ

आइतबार ४२ जना प्रदेश सभा सदस्यहरुको बहुमत हस्ताक्षरसहित प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीकाे सपथ ग्रहण रोकी नियुक्ति बदरको मागसहित प्रदेश प्रमुखको कार्यालय अघि नाराबाजी गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालय अघि नाराबाजी र घेराउ भएपछि आइतबार साँझ मुख्यमन्त्री मुकाम मै गएर प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलको नेता शंकर पाेखरेललाई सपथ गराएका थिए ।

प्रदेश सभाका सांसदहरुले २०७८ बैशाख ६ गते प्रदेश सरकारका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरी विशेष अधिवेशनको माग गरेका थिए भने आइतबार (बैशाख १९ गते)बाट बैठक बस्ने मिति तय भइसकेको थियो ।

  •  
  •  
  •  
  •  
  •