लुम्बिनी प्रदेशको घटना बलमिच्याईं र घोर अलोकतान्त्रिक – देउवा

१९ बैशाख ०७८, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको घटनालाई बलमिच्याईं र घोर अलोकतान्त्रिक भन्दै कडा शब्दमा भत्सर्ना गरेका छन् ।

सभापति देउवाले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया संविधानको ठाडो उल्लंघन भएको भन्दै यस्तो बताएका हुन् ।

“बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु,” विज्ञप्तिमा भनिएको छ, “नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन ।”

एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर संसदीय मुल्य मान्यता विपरीतको व्यवहार गरेकाे भन्दै देउवाले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएको समेत बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •