राष्ट्रपति कार्यालयले भन्यो, प्रधानमन्त्रीमा कसैको दाबी पेश हुन आएन (विज्ञप्तिसहित)

३० बैशाख ०७८, काठमाडौं । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर तोकिएको समयमा बहुमतको सरकारका लागि कसैको दावी पेश नभएको जनाएको छ ।

प्रवक्ता रुपनारायण भट्टराईले  जारी गरेको विज्ञप्तिमा “नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको” उल्लेख छ ।

बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वतः कामचलाउ प्रधानमन्त्री बनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राति ९ बजेसम्म दावी आह्वान गरेकी थिइन् ।

विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।”

  •  
  •  
  •  
  •  
  •