सातै प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत

१ असार ०७८, काठमाडौं । सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो ।

आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

यस्तै प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजना गरेको जानकारी दिए ।

बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने मन्त्री यादवले जानकारी दिए ।

यसैगरी बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमध्ये कर तथा राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजश्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख उठ्ने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजश्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ । पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ ।

यसैगरी कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै ३ अर्ब रुपैयाँले बढी हो ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले कुल ३० अर्ब ३३ करोड ९५ लाख बजेट ल्याएको छ ।

स्वास्थ्य क्षेत्र र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बताएका छन् ।

मंगलबार अगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवाको सुधार तथा विस्तारसँगै पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताए ।

 

  •  
  •  
  •  
  •  
  •