डब्ल्यूएचओका महानिर्देशकद्वारा नेपाली स्वास्थ्यकर्मीको भिडियो प्रशंसा

५ असार ०७८, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियोको प्रशंसा गरेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक गेहब्रेयसले ट्वीट गर्दै मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियोको प्रशंसा गरेका हुन् ।

मुस्ताङको छापताङ खोला बढेपछि असार १ गते कोरोना भ्याक्सिन बगाउने डरले स्वास्थ्यकर्मीहरुले फलामे भाटाको सहारा लिई खोला पार गराएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो दृश्यलाई ब्ल्यूएचओका महानिर्देशकले उच्च प्रशंसा गरेका हुन् ।

‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने ?’ भन्दै महानिर्देशक गेहब्रेयसले ट्वीट गरेका छन्, ‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन । धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’

  •  
  •  
  •  
  •  
  •