बालुवाटारमा गठबन्धनको पहिलो बैठक : देउवा बसेनन् प्रधानमन्त्रीको कुर्सीमा

९ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय बैठकले गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को नेपाल–खनाल समूह, जनता समाजवादी पार्टीको यादव–भट्टराई समूह र राष्ट्रिय जनमोर्चा नेपालको शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको प्रेस विज्ञ विष्णु सापकोटाले दिएको जानकारी अनुसार आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयास लगायतका विषयमा छलफल भएको थियो ।

किन देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेनन् ?

 

देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको कुर्सीमा नबसेर समान हैसियतमा बसेको देखिएको थियो ।

प्रधानमन्त्री देउवा प्रधानमन्त्री बस्ने कुर्सी छोडेर प्रधानमन्त्री बन्न सघाउने चार नेतासरह सोफामा बसेका थिए ।

प्रधानमन्त्री देउवाको सचिवालयले गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन समान सोफामा बसेको जनाएको छ ।

यद्यपि, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी (तत्कालीन नेकपा) का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •