निर्वाचन आयोगले यादव-भट्टराई समूहलाई दियो जसपाको आधिकारिकता

११ साउन ०७८, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)को विवाद निरुपण गर्दै यादव-भट्टराई समूहलाई पार्टीको आधिकारिकता दिएकोे छ ।

जसपाको ठाकुर–महतो समूहलाई छुट्टै दल दर्ता गर्न दिने गरी निर्वाचन आयोगले पार्टी आधिकारिकता विवादमा उपेन्द्र यादव समूहलाई बैधानिकता दिएको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा १६ जनाले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा र ३४ जनाले उपेन्द्र यादव र बाबुराम भट्टराई समूहमा हस्ताक्षर गरेपछि पार्टीको आधिकारिकता यादव पक्षले हात पारेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार जसपाको आधिकारिकता विवादमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ जना आयुक्तको इजलास बसेको थियो ।

उनले महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई छुट्टै दल दर्ता गर्न दिने निर्णय भएको पनि जानकारी दिए ।

पाँचदलीय गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काउँदै गर्दा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूह एमाले अध्यक्ष एवम् निर्वतमान प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी भएसँगै जसपाको विवाद उत्कर्षमा पुगेको थियो ।

  •  
  •  
  •  
  •  
  •