जसपाका तीन जना लुम्बिनी प्रदेशसभा सदस्य पदमुक्त

१५ साउन ०७८, बुटवल । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभामा तीन जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जसपाका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् ।

जसपा संसदीय दलका नेता सहसराम यादवले तीनैजना सांसदहरुलाई पार्टीको ह्वीप उल्लंघन गरेपछि गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरिएको बताए ।

प्रदेशसभा सचिव पुनले शुक्रबार जारी गरेको लुम्बिनी प्रदेशसभा सूचना पत्र–४ मा भनिएको छ, “जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलमार्फत् लुम्बिनी प्रदेशसभाको प्रदेश सचिवालयलाई कार्यान्वयनका लागि पठाउने सर्वसम्मतिले निर्णय गरिएकाले दफा ३४ अनुसार संसदीय दलको नेताको हैसियतले निजहरुलाई निश्कासन गरेको जानकारीको व्यहोरा कार्यान्वयनका लागि अनुरोध छ भन्ने व्यहोराको सूचना प्राप्त हुन आएकोमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम हाल प्रदेशसभाको बैठक चालु नरहेकाले माननीय सभामुखज्यूले यो सूचनापत्र सचिवालयको सूचनामा टाँस्न लगाउनु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

सांसदबाट पदमुक्त भएका तीनै जना एमाले नेता समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् ।

  •  
  •  
  •  
  •  
  •