महाकाली घटनामा आफ्नाे सुरक्षाकर्मीको संलग्नता नरहेको भारतकाे भनाइ

१६ साउन ०७८, काठमाडौं । भारतले महाकाली नदीमा खसेर एक युवा बेपत्ता भएको घटनामा आफ्नाे सुरक्षाकर्मीको संलग्नता नरहेको बताएको छ ।

भारततर्फको बाटो हुँदै तुइनमार्फत दार्चुलाको ब्यास गाउँपालिका-२ स्थित मालघाटबाट सदरमुकाम खलंगा आउँदै गर्दा तुइनको डोरीबाट चुडिएपछि  ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएकाे घटनामा भारतले यस्तो बताएको हाे ।

शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गर्दै भनेको छ, “एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ ।”

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरेकी छन् ।

भारतले महाकाली नदीमा नेपाली युवा बेपत्ता भएको घटनामा खोज्न टिम गठन गरेको नेपाल पक्षलाई जानकारी गराएको छ ।

  •  
  •  
  •  
  •  
  •