अफगानिस्तान तालिवानको नियन्त्रणमा : रक्तपात रोक्न देश छोडेको गनीको प्रतिक्रिया

अमेरिकी सेना फिर्ता हुने निर्णयको बचाउ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयको बचाउ गरेका छन् ।

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको बताउँदै यस्तो बताएका हुन् ।

अमेरिकी सैनिकले थप जोखिम उठाउने अवस्था रहे पनि अफगानका नेताले देशै छोडेर भागेको बताउँदै उनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’

तालिबान आइतबार देशको राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ गनी विदेश पलायन भएका छन् ।

काबुल छाड्नु एउटा कठिन फैसला भएको बताउँदै गनीले एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै “रक्तपात रोक्नका लागि” उक्त निर्णय लिएको स्पष्टीकरण दिएका छन्।

उनले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षाको जिम्मा तालिबानको भएको बताएका छन् ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा अफगानिस्तानले गुलामीको साङ्लो तोडेको बताएका छन् ।

प्रधानमन्त्री खानले संसारमा रहेको दासत्वको साङ्लो तोडिन भने बाँकी रहेको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •