सामाजिक सुरक्षा लागू नगर्ने कम्पनीहरुमा सेक्युरिटी मजदुरले निर्णायक संघर्ष गर्ने !

१० असोज ०७८, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघ केन्द्रीय समितिको बैठक माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

आइतबार कोटेश्वरमा संघको केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद ढकालको अध्यक्षता साथै अन्टुफ अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी माघ ८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष ढकालले दिएको जानकारी अनुसार बैठकले मंसिर मसान्तसम्म मूल कमिटीहरुको, पुस मसान्तसम्म जिल्ला र प्रदेश समितिहरुको सम्मेलन सम्पन्न गरी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने सेक्युरिटी कम्पनीहरुमा संघर्ष उठान गर्ने निर्णय भएको उनले बताए ।

संघका अध्यक्ष ढकालले भने, “श्रम ऐनको गलत प्रगोग गरेर श्रमिक निश्कासन गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना साथै न्यूनतम पारिश्रमिक नदिने सेक्युरिटी कम्पनीहरुमा ऐन कार्यान्वयनका लागि संगठनले सशक्त संघर्ष गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।”

संघका उपाध्यक्ष खगेन्द्र राज धिमालले बैठकले संगठनका अध्यक्ष लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा सातै प्रदेशका अध्यक्षहरु सदस्य रहने गरी विधान समिति पनि गठन भएको जानकारी दिए ।

उक्त बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपाध्यक्षत्रय जय कार्की, धनबहादुर विक, एसबी थापा मगर, कावा महासचिव शालिकराम काफ्ले, कोषाध्यक्ष घनश्याम ठकुरी, बागमती प्रदेश अध्यक्ष शिव पोखरेलको आतिथ्य रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •