सामाजिक सुरक्षा कोषमा सूचीकृत नगरिए आन्दोलनमा जाने सरकारी कर्मचारीको घोषणा

काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संघको केन्द्रीय समिति बैठकले अस्थायी करार तथा ज्यालादारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध नगरिए ७५३ स्थानीय तहबाट आन्दोलन गर्ने निर्णय गरेको छ ।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयमा संघकी अध्यक्ष बिमला आचार्यको अध्यक्षता, अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्य साथै अन्टुफ केन्द्रीय अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लिएको निर्णयबारे जानकारी दिँदै संघकी अध्यक्ष आचार्यले भनिन्, “सम्पूर्ण सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता, सुरु स्केल तलब, श्रम ऐनका साथै अन्य सेवा सुविधा निजामती कर्मचारीले पाएसरह हुनुपर्ने अन्यथा केन्द्रदेखि ७ वटै प्रदेश र ७५३ स्थानीय तहबाट आन्दोलन गर्ने निर्णय गरिएको छ ।”

यस्तै संघका महासचिव काशिराज श्रेष्ठले बैठकले बागमती प्रदेशको भेला ०७८ कार्तिक ६ गते हेटौंडामा, कर्णाली प्रदेश भेला मंसिर ४ गते सुर्खेतमा गर्ने साथै जिल्ला र स्थानीय तहको हकमा पुस मसान्तसम्म भेला गर्ने निर्णय गरेको बताए ।

उनले नयाँ सदस्यता वितरणलाई निरन्तरता दिँदै केन्द्रीय कार्यसमितिको ०७८ असोज मसान्तसम्म र जिल्ला विभागीय इकाई स्थानीयको हकमा ०७८ कार्तिक मसान्तसम्म नवीकरण गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •