विश्व ट्रेड युनियन एकता र साम्राज्यवादविरुद्ध महादेशीय छलफल

२ कार्तिक ०७८, काठमाडौं । आगामी नोभेम्बरमा हुने भेनेजुएलाको प्रान्तीय चुनावको सन्दर्भ पारेर एसिया र ओशनिया प्रतिनिधिहरु बीच साम्राज्यवादविरुद्ध लड्न महादेशीय छलफल भएको छ ।

प्रविधिको उपयोग गर्दै जुममार्फत् नेपाली समयअनुसार मंगलबार साँझ पौने ६ बजे “एसिया एण्ड ओशनिया : इन डिफेन्स अफ डेमोक्रेसी एण्ड द ट्रुथ अफ भेनेजुएला” कन्टिनेन्टल मिटिङ भएको हाे । बैठकमा साम्राज्यवादविरुद्ध भेनेजुएलाले गरिरहेको संघर्षका सवाल र साम्राज्यवादविरुद्ध लड्न महादेशीय ऐक्यवद्धताका विषयमा ‘युनाइटेड सोसल पार्टी, भेनेजुयला’का नेता आदन चाभेजले जोड दिएका थिए ।

बैठकका मुख्य वक्ता पूर्वराष्ट्रपति ह्युगो चाभेजका भाई समेत रहेका नेता आदन चाभेजले भेनेजुएलामा आगामी नोभेम्बरमा हुने प्रान्तीय चुनावको सन्दर्भलाई जोड्दै उक्त चुनाव देशमा साँचो लोकतन्त्र निर्माण गर्न र मातृभूमिको रक्षाका लागि हुने बताएका थिए ।

जुम बैठकलाई सम्बोधन गर्दै उनले भने, “भेनेजुएलाको गणतन्त्र, संविधान रक्षा गर्न, एक साँचो लोकतन्त्र निर्माण र मातृभूमिको रक्षा गर्न आगामी नोभेम्बरमा हुने प्रान्तीय चुनाव महत्वपूर्ण छ । हामी महाद्वीपीय ऐक्यवद्धता चाहन्छौं । यो बैठक प्रगतिशील वामपन्थी सबै राजनीतिक दलहरुको सामाजिक आन्दोलनहरु बीच एकता गर्न साथै विश्वका ट्रेड युनियन एकता अगाडि बढाउन र अमेरिकी साम्राज्यवादलाई परास्त गर्न महत्वपूर्ण हुनेछ ।”

उनले आमसञ्चारको माध्यमबाट एकअर्को देशको घटनाहरुलाई पछ्याउन सकिने भन्दै साम्राज्यवादको हमला सामना गर्न र क्रान्तिकारी अन्तर्राष्ट्रिय हाइलाइटिंग साथै प्रशिक्षण र जागरूकताको लागि यसलाई मुख्य अन्तर्राष्ट्रिय हतियार बनाउनु पर्नेमा समेत जोड दिएका थिए ।

एसियाली देशहरुले साम्राज्यवादविरुद्ध आफ्नो उद्देश्यअनुरुप अस्थायी जित हासिल गरेका भन्दै उनले स्थायीत्वका लागि आफूहरु पनि सहयोगीको अर्को भाग हुने बताए ।

क्रान्तिकारीहरु विश्वव्यापीरूपमा एकजुट हुनुपर्नेमा जोड दिँदै चाभेजले भने, “साम्राज्यवादलाई परास्त गर्न, स्वतन्त्रताका लागि हाम्रो संघर्षसँगै महाद्वीपहरुको बीच एकता, महाद्वीपीय सामूहिक कार्य योजनाको संयुक्त विकास गरिनु पर्दछ । काँधमा काँध मिलाउनु जरुरी छ ।”

उक्त जुम बैठकमा भेनेजुएला, चीन, अष्ट्रेलिया, जापान, मलेशिया, हङकङ, जोर्डन, दक्षिण कोरिया, बंगलादेश, कोलम्बिया लगायत देशका १५४ बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने नेपालबाट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का केन्द्रीय उपाध्यक्षत्रय जय कार्की, धनबहादुर विक, एसबी थापामगरको सहभागिता रहेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •