साविर अली सरकारी जग्गा कब्जा गर्न उक्साएको आरोपमा पक्राउ

३ कार्तिक ०७८, रुपन्देही । जिल्लाको मोतिपुरमा औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न स्थानीयलाई उक्साएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चार जनाको ज्यान गरी भएको ‘मोतिपुर घटनाको योजनाकार’ भन्दै प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी ठेगाना भएका ४४ वर्षीय साविर अली मुसलमानलाई कार्तिक १ गते पक्राउ परेका उनलाई सार्वजनिक गरेको हो ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले दिएको जानकारी अनुसार मुसलमानले सरकारी जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, समिति गठन गर्ने, ब्यानर बनाउने र माइन्युटिङ तयार गर्ने जस्ता कामको नेतृत्व गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

डीएसपी थापाले उनीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको बताए ।

प्रहरीले मुसलमानको डेराबाट ब्यानर तीन थान, माइन्युटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु १३ थान र बस्ती विकासको सहयोग रसिद दुई थान फेला पारेको छ ।

असोज २४ गते औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाई कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चारजना सर्वसाधारणको ज्यान गएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •