माओवादी केन्द्रले सबै प्रदेशको सम्मेलन एकसाथ उद्घाटन गर्दै

२५ मंसिर ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशको प्रदेश सम्मेलन एकसाथ उद्घाटन गर्दैछ ।

माओवादी केन्द्र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले दिएको जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रविधिको प्रयोग गर्दै प्रदेशको सम्मेलन एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आज शनिबार नेकपा (माओवादी केन्द्र)ले ७ भौगोलिक र ३ गैरभौगोलिक (उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास) प्रदेश गरी दश प्रदेशको सम्मेलन गर्न लागेको हो ।

माओवादीले प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बाग्मतीको काठमाडौं, गण्डकीको कास्की, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत साथै सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन गर्दैछ भने उपत्यका विशेष प्रदेशले बुद्धनगर काठमाडौं र सम्पर्क समन्वयले अनुकूलमा सम्मेलन गर्ने जनाइएको छ ।

दुईसाता अघि मङ्सिर ११ गते माओवादीले ७५३ स्थानीय तहको सम्मेलन सम्पन्न गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •