समूहगत छलफलको निष्कर्ष राख्नेक्रम सकियो

१५ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी) केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत वैचारिक तथा राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष बन्दसत्रमा राख्नेक्रम सकिएको छ ।

यही पुस ११ गतेदेखि काठमाडौंमा उद्घाटन भएको माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्र अन्तर्गत १३ र १४ गते समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएसँगै निष्कर्ष राख्नेक्रम सकिएको हो ।

“पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुति भयो,” नेकपा (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन, प्रचार तथा प्रकाशन उपसमितिले जारी गरेको प्रस नोटमा भनिएको छ, “आज सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट क. कृष्ण अधिकारी, सल्लाहकारहरुको समूह ‘क’ बाट क. चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट क. गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट क. जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट क. मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट क. इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, समूह ११ गण्डकी प्रदेशबाट क. देबेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहबाट क. नन्दकुमार प्रसाई, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट क. सुदर्शन बरालमगर, केन्द्रीय विभागबाट क. घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट क. सुरेश आलेमगर, समूह ९, लुम्बीनी प्रदेशबाट क. नारायण अधिकारी र प्रदेश नं. २ बाट क. भवानी थापाले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गर्नुभयो ।”

बुधबार सल्लाहकार समूह ‘क’बाट क. रामनारायण बिडारी, प्रदेश नं. २ बाट क. सत्यनारायण भगत, केन्द्रीय आयोगबाट क. टंक राई, समूह १० गण्डकी प्रदेशबाट क. गायत्री गुरुङ, प्रदेश नं. १ बाट क. अजम्बर काम्वाङ राई, प्रदेश १ कै अर्को समूहबाट क. हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट क. मनऋषि धिताल, बागमती प्रदेशबाट क. सरल सहयात्री, केन्द्रीय विभागबाट क. गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट क. मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट क. विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएकोमा सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूह संख्या २४ वटा बनेको थियो । यससँगै समूहगत छलफल सकिएको छ ।

प्रचार तथा प्रकाशन उपसमितिले जारी गरेको प्रस नोटमा शुक्रबार अपरान्ह १ बजेबाट बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •