वैकल्पिक बाटो रोजेर सबै खतरालाई टारेका छौं – माधवकुमार नेपाल

२५ फागुन ०७८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका छन् ।

बुधबार पार्टीको पोलिट्ब्यूरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमसीसीको विपक्षमा रहेको भए सत्तारुढ गठबन्धन तोडेर कांग्रेस र एमालेले एमसीसी जस्ताको तस्तै पारित गर्ने, आफूहरुको १४ सांसदलाई कारबाही गर्ने र पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका हुन् ।

‘यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँचदलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए’ अध्यक्ष नेपालले भनेका छन् ।

उनले प्रतिवेदनमा अघि भनेका छन्, ‘त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई हटाइने र हाम्रो पार्टीका १४ सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे । हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं ।’

  •  
  •  
  •  
  •  
  •