चन्द लगायतका नेता कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी

१६ साउन ०७९, ललितपुर । जिल्ला अदालत ललितपुरले नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायतका नेता कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले चन्दसँगै पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका नेता, कार्यकर्ताहरुलाई राज्यविरुद्धको अपराध गरेको आरोपमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको भन्दै अदालतले ३५ दिन भित्र उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने जनाएको छ ।

पक्राउ पुर्जी जारी हुनेहरुमा विप्लव र विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, सुर्खेतका धर्मेन्द्र बास्तोला, रोल्पाका सन्तोष बुढामगर, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, गोरखाकी उमा भुजेल, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर, कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल, खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णु प्रसाद तिमिल्सिना तथा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्र बहादुर दर्नाल, सन्जिव नेपाली लगायतका छन् ।

भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग २०७७ साल फागुन २१ गते तीन बुँदे सहमति भएपछि खुला राजनीतिमा आएका थिए ।

  •  
  •  
  •  
  •  
  •