पर्यटन मन्त्रालयका उपसचिव घुस लिँदालिँदै पक्राउ : साढे २२ लाख रुपैयाँ बरामद

१७ साउन ०७९, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात घुस लिँदालिँदै पक्राउ गरेको छ ।

अख्तियारले ६ लाख घुस लिँदालिँदै पक्राउ परेका नेपालको गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिएको जानकारीअनुसार नक्सालस्थित नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका उनको साथबाट थप साढे १६ लाख भेटिएसँगै बरामद रकम साढे २२ लाख रुपैयाँ पुगेको छ ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको भन्दै नेपालविरुद्ध अख्तियारमा उजुरी परेसँगै अख्तियारको टोलीले उनलाई पछ्याउनेक्रममा उक्त रकमसहित पक्राउ गर्न सफल भएको हो ।

अख्तियार स्रोतकाअनुसार प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा रुपन्देही शुद्धोदन गाउँपालिकाका हाल बूढानीलकण्ठमा बस्ने ३८ वर्षीय उपसचिव नेपालले घुस रकम माग गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •