१६ असार, बझाङ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनले व्यवस्था गरेको विषय तत्काल कार्यान्वयन गरिने बताएका छन् । शिक्षा ऐनको आठौं संशोधन प्रमाणीकरण भै असार १५ गतेबाट लागू भएकोले ऐनले गरेको परिवर्तन र व्यवस्थालाई कार्यान्वयन गर्न निर्णय लिइएको मन्त्री पोखरेलले बताए ।
शिक्षा मन्त्रालयको प्रेस विज्ञप्ति :
शिक्षा ऐनको आठौं संशोधन प्रमाणीकरण भै मिति २०७३/३/१५ बाट लागू भएकोले सो ऐनले गरेको परिवर्तन र विभिन्न व्यवस्थालाई कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले देहाय बमोजिम निर्णय गरेको छ ।
१. शिक्षा ऐनले व्यवस्था गरेको विषय तत्काल कार्यान्वयन गरिनेछ । शिक्षा नियमावली संशोधन आवश्यक भएका विषयमा नियमावली संशोधन गरी कार्यान्वयन गरिनेछ ।
२. शिक्षा ऐन आठौं संशोधन अनुरुप शिक्षा नियमावली संशोधन मस्यौदा तयार गर्न शिक्षा मन्त्रालय शैक्षिक व्यवस्थापन महाशाखाका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
३. यस बमोजिम शिक्षा नियमावलीको संशोधन पछि अस्थायी शिक्षकलाई दिइने सुविधा र शिक्षक स्थायी गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।
४. विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास लगायतका विषयमा शिक्षा नियमावलीमा व्यवस्था गरिनेछ ।
५. कक्षा ११ र १२ को अनुमति/सम्बन्धन सम्बन्धी कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानविन गरी आवश्यक निर्णयका लागि पेश गर्न शिक्षा विभागमा महानिर्देशकको अध्यक्षतामा, शिक्षा विभागको शैक्षिक व्यवस्थापन महाशाखाका निर्देशक र साविकको उच्च माध्यमिक शिक्षा परिषदमा सम्बन्धन महाशाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहने गरी समिति गठन गर्ने ।
६.साविकको उच्च माध्यमिक शिक्षा परिषदले गरी आएको उच्च माध्यमिक तहको विद्यालय व्यवस्थापन/प्रशासन सम्बन्धी कार्य शिक्षा विभागले गर्ने । यसका लागि साविकको उच्च माध्यमिक शिक्षा परिषदका सम्बन्धित महाशाखा/शाखाले अभिलेख हस्तान्तरण लगायतका अन्य कार्यमा शिक्षा विभागलाई सहयोग गर्ने ।
७. साविकको उच्च माध्यमिक शिक्षा परिषदको पाठ्यक्रम महाशाखाले यससँग सम्बन्धित अभिलेख तथा कागजातहरु पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गर्ने । कक्षा ११ र १२ को पाठ्यक्रम निर्माण तथा संशोधन गर्नुपर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रले साविककोे उच्च माध्यमिक शिक्षा परिषदका सम्बन्धित महाशाखा/शाखासँग आवश्यकता अनुसार समन्वय गरी निर्माण, संशोधन गर्ने प्रक्रिया पुरा गर्ने ।
८. साविकको उच्च माध्यमिक शिक्षा परिषदबाट छात्रबृत्ति छनौट गर्न सूचना प्रकाशित गरेको परीक्षा, शिक्षा विभागले व्यवस्थापन गर्ने । उक्त परीक्षा व्यवस्थापन गर्न साविकको उच्च माध्यमिक शिक्षा परिषद हाल राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका कार्यालयहरुले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालन गर्ने र नतिजा प्रकाशन जिल्ला शिक्षा कार्यालयहरुले गर्ने ।
९. राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नभएसम्म उपाध्यक्ष शिक्षा सचिवलाई अध्यक्षको अधिकार प्रयोग गर्ने गरी जिम्मेवारी दिइएको छ ।
१०. राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीलाई तोकिएको छ ।
मिति :२०७३ आषाढ १६
गिरिराजमणि पोखरेल
शिक्षा मन्त्री
राष्ट्रिय परीक्षा बोर्डको मिति २०७३/०३/१६ को बैठकबाट भएका निर्णयहरु :
१) अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा नियन्त्रण कार्यालयले गरी आएको कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) सम्बन्धी कार्यहरू हाललाई यथावत रूपमा सोही कार्यालय मार्फत सञ्चालन गर्ने गराउने ।
२) शिक्षा ऐन, २०२८ (संशोधन सहित) बमोजिम राष्ट्रिय परीक्षा बोर्ड गठन भएकोले साविक उच्च माध्यमिक शिक्षा परिषदको कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालयलाई राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालय कायम गर्ने र अन्तर्गत कार्यालयहरूलाई अर्को निर्णय नभएसम्मका लागि राष्ट्रिय परीक्षा बोर्डका शाखा कार्यालयको रूपमा कायम गर्ने ।
३) राष्ट्रिय परीक्षा बोर्डको तत्काल कार्य सञ्चालनका लागि लिइनु पर्ने निर्णयका सम्बन्धमा कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक र राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ का परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकले आगामी बैठकमा पेश गर्ने ।
४) राष्ट्रिय परीक्षा बोर्डको संलग्न लोगो र छाप शिक्षा ऐन, २०२८ (संशोधन सहित) ले व्यवस्था गरे बमोजिम स्वीकृत गर्ने ।
५) राष्ट्रिय परीक्षा बोर्डमा कार्य गर्नको लागि कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) को परीक्षा नियन्त्रण कार्यालयका सम्पूर्ण कर्मचारीलाई खटाइदिनको लागि शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।
६) साविक उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारीहरू राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी मानिने व्यवस्था भएकोले सबै कर्मचारीलाई तत् तत् पदमा बोर्डको कर्मचारी कायम भएको पत्र दिने ।