६ पुस, सप्तरी । सार्वजनिक जग्गा मिचेर वर्षौदेखि होटल र पसलहरु सञ्चालनमा रहँदा पनि त्यसलाई खाली गराउन सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।
राजविराज १ स्थित मालपोत कार्यालयको अग्रभागमा सडक किनारमै विगत ७ वर्षदेखि नगरपालिकाको सार्वजनिक जग्गा मिचेर पसल र होटलहरु सञ्चालन रहे पनि त्यसलाई खाली गराउन सम्बन्धित निकायले कुनै पहल नगरेपछि स्थानीवासी आक्रोसित बनेका हुन् ।
लाखौ मुल्य पर्ने जग्गामा लामो समयदेखि रोजल फोटोकपी फोटो स्टुडीयो, योग परामर्श केन्द्र, शिव साई वैष्णव होटल र पतञ्जली योग पिठको उत्पादन बिक्रि कक्ष (बिना दर्ता) सञ्चालन हुँदै आएको भए पनि त्यस वापत नगरपालिकाले एक रुपैयाँ पनि भाडा पाउँदैन ।
बरु सो जग्गा अतिक्रमण गर्नेहरुनै बेला बेलामा अन्य पसलेलाई भाडामा दिई अवैध कमाई गर्ने गरेका छन् । यसले पसल भाडामा लिई व्यवसाय गर्ने फोटोकपी तथा स्टुडीयोवालाहरु आर्थिक मारमा परेका छन ।
यसरी खाली रहेको जग्गा अतिक्रमणमा धमाधम बढ्दै गइरहेको भएपनि सरोकारवाला निकाय मौन वस्नु अचम्मको विषय बनेको स्थानीवासी अमिन यादवको भनाई छ ।
अति चहल पहल र व्यस्त रहने सो सडक किनारमा जथाभावी ढङ्गले अतिक्रमण कार्य बढ्दै गएपछि सडक साँघुरो बन्न गई आवागमनमा समेत समस्या हुने गरेको स्थानीय भुपेन्द्र चौधरीको भनाई छ ।
सडक किनारमा अतिक्रमण बढ्दै गएपछि ठाउँ नपाई सडकमै खसी बजार लाग्ने र सो कारणले अवागमन कार्यमा अवरोध समेत आउन थालेको भन्दै खसी व्यवसायी मो.गुलामले नगरपालिकाको अतिक्रमित जग्गा खाली गर्न सकिए खसी बजार त्यहा सार्न सहज हुने र सडक जामको समस्या पनि समाधान हुने बताए । उक्त स्थानमा विगतमा नगरपालिकाले पार्किङ्ग व्यवस्थापन गरेको थियो ।
यसरी खुलेआम भइरहेको अतिक्रमण कार्य समयमै नरोकिए नगरको अन्य क्षेत्रमा पनि यस्तै समस्या दोहोरिने भन्दै स्थानीयले अबिलम्ब यस्ता कार्य रोक्न सम्वन्धित निकायले पहल गर्नुपर्ने माग गरेका छन् ।