८ कार्तिक ०७४, नुवाकोट । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी एकीकृत राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

बुधवार सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा एराप्रपा राष्ट्रवादीकी नेतृ श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर अर्जुन नरसिंह केसीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् ।
नेतृ श्रेष्ठ आफूले उमेदवारी फिर्ता लिइसकेको र आजैका मितिवाट नुवाकोटका सबै क्षेत्रमा कांग्रेसलाई जिताउन क्रियाशील रहने प्रतिवद्धता जनाइन् ।
श्रेष्ठ २०७० सालको संविधानसभा निर्वाचनमा राप्रपाबाट समानुपातिक सांसद बनेकी थिइन् ।
श्रीवास्तव संघीय फोरममा जाने

विरगंज । हरेक चुनावमा दल फेर्दै आएका विमल श्रीवास्तव संघीय समाजवादी फोरममा जाने भएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले विरगंज महानगरपालिकाको मेयरको टिकट नदिएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गरेर टिकट लिई विरगंज महानगरको मेयरमा पराजित भएका श्रीवास्तवले बुधबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर संघीय फोरममा प्रवेश गर्ने घोषणा गरेका छन् ।
श्रीवास्तवलाई पार्टीमा प्रवेश गराउन फोरम अध्यक्ष उपेन्द्र यादव शनिबार वीरगञ्ज आउने बताइएको छ ।
स्रोतका अनुसार फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा विलय भएपछि श्रीवास्तव प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने सर्तमा संघीय समाजवादी फोरम प्रवेश गर्न लागेका हुन् ।













