नेपाल ‘यूएन सन ग्लोबल च्याम्पियन अवार्ड २०१७’  बाट पुरस्कृत

२७ कार्तिक ०७४, काठमाडौं । महिला र बालबालिकाको कुपोषण हटाउन प्रभावकारी कदम चालेबापत नेपाल संयुक्त राष्ट्रसंघको ‘यूएन सन ग्लोबल च्याम्पियन अवार्ड २०१७’  बाट पुरस्कृत भएको छ ।

२४ कार्तिकमा राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशीले आइभरी कोस्टमा आयोजित कार्यक्रममा ‘यूएन सन ग्लोबल च्याम्पियन अवार्ड २०१७’  पुरस्कार थापेका थिए ।

कुपोषण न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघका सहायक महासचिवको नेतृत्वमा विश्वव्यापी पोषण अभिवृद्धि  अभियानमा सहभागी  ६० सदस्य मुलुकमध्ये नेपाल लगायत ८ मुलुकलाई पुरस्कृत गरिएको हो ।

कुपोषण न्यूनीकरणका लागि योजना आयोगको समन्वयमा २८ जिल्लामा २०१३ देखि चारवर्षे पहिलो बहुक्षेत्रीय पोषण योजना लागू गरिएको थियो । जसअन्तर्गत सुनौला हजार दिन, पोषणका लागि हातेमालो कार्यक्रम, सुआहारा (एकीकृत पोषण कार्यक्रम), सबल परियोजना, फिड द फ्युचर : किसान, कृषि तथा खाद्य सुरक्षा परियोजनालगायत कार्यक्रम सञ्चालन गरिएका थिए ।

आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पहिलो बहुक्षेत्रीय पोषण योजना लागू भएको अवधिमा सरकारी तथ्यांकले अझै पनि कुपोषणका कारण हरेक वर्ष २५ हजार बालबालिकाको मृत्यु र  पुडकोपनको समस्यामा केही सुधार भए पनि अझै कुपोषणको समस्या चिन्ताजनक अवस्थामा रहेको बताउँदै सरकारले आगामी पुसदेखि दोस्रो बहुक्षेत्रीय पोषण योजना लागू गर्न तयारी थालिसकेको बताए । योजनालाई युरोपेली संघ, युनिसेफ, यूएसएडलगायत दातृ निकायको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वाग्लेले भने, ‘कुपोषण निर्मूल नपारेसम्म बालबालिकाको मृत्युदर घटाउन सम्भव छैन । त्यसबाहेक दिगो विकास अभियान अन्तर्गतको नेपालले राखेको पोषणको लक्ष्य हासिल गर्न पनि हालको पुडकोपनको घट्ने दरमा उल्लेख्य सुधार ल्याउन प्रभावकारी पोषण योजनाबाट मात्र सम्भव छ ।’

उनले योजनाको अनुमानित बजेट ४२ अर्ब २८ करोड रुपैयाँ रहेको बताउँदै त्यसलाई राष्ट्रिय योजना आयोग  र स्वास्थ्य, कृषि विकास तथा पशुपन्छी, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण, शिक्षा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भाग लगाएको बताए ।

तपाइको मत