२ पुस ०७४, काठमाडौं । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगको डायलासिस, क्यान्सर रोगी र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव अघि सारेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मलेनको आयोजना गरी उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरिरहेको जानकारी दिइएको हो ।
बैठकले उक्त प्रस्ताव पारित गरे लगत्तै मिर्गौलाको डायलासिस, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीले उक्त रकम मासिक भत्ता स्वरुप प्राप्त गर्न सक्नेछन् ।
मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भएका झण्डै १७ हजार बिरामीलाई उक्त भत्ता वितरण गर्न मन्त्रालयलाई छ महिनाको अवधीमा करिब ७८ हजार रुपैयाँ आवश्यक पर्नेछ भने आउँदो वर्षदेखि झण्डै दुई अर्व रुपैयाँ आवश्यक पर्नेछ ।
हाल स्वास्थ्य मन्त्रालयले मिर्गौला, क्यान्सर, स्पाइनल कर्ड इन्जुरी, बाथ मुटु रोग लगायतका १२ प्रकारका रोगको उपचारका लागि एक लाख रुपैयाँ खर्च दिदै आएको छ । साथै, मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।
सूर्तीजन्य पदार्थमा लाग्ने करबाट उठेको रकमको केही हिस्सा मासिक भत्ताका लागि प्रयोग गरिने स्वास्थ्य मन्त्री दीपक बोहराले जानकारी दिए ।













