एमाले-माओवादी एकता प्रक्रिया लम्बिने भाे !

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ ।

नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एजेन्डा निर्धारणका लागि पहिले छलफल हुने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि दुई नेताबीचमै भेट नभएको अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

एक साताको बीचमा ओली-दाहालबीच एजेन्डा निर्धारणका लागि भेट हुने भने पनि कहिले ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारण सम्भव हुन सकिरहेको छैन ।

शनिबार दाहाल चितवनबाट काठमाडौं फर्केर सकभर त्यही दिन, नभए आइतबार दुई अध्यक्षको बीचमा छलफल भएपश्चात एकता संयोजन समितिको बैठक बसेर प्रक्रियाअगाडि बढाउने भनिए पनि बैठक बस्नै सकेन । दाहाल शनिबार मौसमको प्रतिकूल अवस्थालाई कारण देखाउँदै काठमाडौं फर्केनन् ।

एमाले अध्यक्ष ओली पनि पुस २६ गते उपचारका लागि एक साता लामो बैंकक भ्रमणमा निस्कने तयारीमा छन् ।

त्यसअगाडि नै दाहाल र ओलीबीच एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि कुरा भए पनि समितिले प्रक्रियालाई तीव्र नपार्ने माओवादीका एक नेताले बताए अनुसार सत्तापक्षले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि एमाले-माओवादी एकता प्रक्रियाको छलफल पनि लम्बिएको हो ।

तपाइको मत