शिक्षण अस्पतालमै राजीनामा दिने नर्सकाे संख्या बढ्दो !

काठमाडौं । स्वदेशमा काम गर्ने नर्सको रोजगारीका लागि आकर्षणको केन्द्र मानिने शिक्षण अस्पतालमै राजीनामा दिने नर्सकाे संख्या बढ्दो छ ।

मासिक चालिस हजारभन्दा बढी तलबभत्ता बुझिरहेकी त्रिवि शिक्षण अस्पतालकी स्थायी नर्स उर्मिला गुभाजु राजीनामा दिएर हालै क्यानडा पुगिन् ।

उनकै जति सुविधा लिइरहेकी कुसुम श्रेष्ठ पनि पछ्याउँदै अस्ट्रेलिया उडिन् । कान्ति बाल अस्पतालको आईसीयुमा कार्यरत स्टाफ नर्स संगीता श्रेष्ठ अस्ट्रेलिया जाने तयारीमा छिन् ।

वीर अस्पतालमा कार्यरत नर्सहरू पनि मुलुक छोड्ने मनस्थितिमा छन् । स्वदेशमा सेवा-सुविधा र भविष्य नदेखेपछि विदेश पलायन हुने नर्सको संख्या बढ्दै गएको छ ।

०७४ भदौ १४ गतेदेखि मंसिर २९ गतेसम्ममा २६ जना स्टाफ नर्सले राजीनामा दिए ख। अस्पतालकी नर्सिङ निर्देशक कोपिला श्रेष्ठ पालिखेले भनिन्, ‘त्यसको सट्टा करारमा स्टाफ लिएर पदपूर्ति गर्दै थियौं फेरि तीन जनाले राजीनामा दिए। हामी ६/६ महिनामा नयाँ नर्स नियुक्ति लिन्छौं ।’

शिक्षण अस्पतालका प्रशासन प्रमुख गोविन्द प्रधानका अनुसार अस्पतालमा औसत प्रत्येक तीन दिनमा एक जनाले राजीनामा दिएका छन् ।

प्रधान भन्छन्, ‘महिनामा दस जनाको राजीनामा आइरहेको हुन्छ ।’ ६/६ महिनामा अस्पतालको पदपूर्ति समितिले २५/३० जना नर्सलाई करारमा नयाँ नियुक्त गरिरहनु परेको छ ।’

आकर्षक तलब-भत्तासहितको सेवा-सुविधा र भविष्य सुन्दर बनाउने चाहनाले मुुलुक छोड्नेहरू बढिरहेको उल्लेख गर्दै नर्सिङ निर्देशक पालिखे भन्छिन्, ‘नियुक्त गरेलगत्तै पुराना नर्सले दिएको राजीनामा बटुल्यो । त्यसपछि फेरि नयाँ खोज्ने काम सुरु भइरहेको हुन्छ ।’

पाँच वर्षयता नर्स पलायन हुने क्रम बढेको छ । उनीहरूको पहिलो गन्तव्य अष्ट्रेलिया हो । त्यसपछि क्यानाडा, अमेरिका र बेलायत हुने गरेको छ ।

शिक्षण अस्पतालमा २०७२ सालमा ५७ जना, २०७३ मा ६९ जना, ०७४ मा अहिलेसम्म ४५ जनाले राजीनामा दिएको अस्पताल स्रोतले जनाएको छ । नर्सिङ निर्देशक पालिखे भन्छिन्, ‘यो संख्या अझै बढ्न सक्छ। पच्चीस/तीस जना विदेश जाने प्रक्रियामा छन् ।’

शिक्षण अस्पतालमा कार्यरत ६ सय नर्समध्ये ३ सय १७ जना स्थायी र २ सय ८३ जना करारमा रहेको अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

छन् ।

तपाइको मत