सरकारको काममा दाहाल नै असन्तुष्ट

काठमाडौं ।  वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट रहेको राजधानी दैनिकमा खबर छ ।

पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका समाचारमा लेखिएको छ ।

‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न,’ प्रेस सेन्टरका नेताहरूलाई शनिबार अध्यक्ष दाहालले भने, ‘सरकार सञ्चालनको विधि तौरतरिका अपनाएर अघिबढ्नुपर्ने देखिन्छ ।’

दाहालले प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा खुलाएनन् । तर, उनले सरकारको काम प्रभावकारी ढंगले अघि बढाउन विधि बनाएरै अघि बढ्नुपर्नेमा भने जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयका रूपमा बिहीबार साँझ ३० सचिवको सरुवा गरेका थिए । कुनै पनि मन्त्रीहरूसँग सुझाव र छलफल नै नगरी सचिवहरूको सरुवा भएको भन्दै एमाले–माओवादी दुवै पार्टीबाट सरकारमा सहभागिता जनाउने मन्त्रीहरू नै सचिव सरुवाको विषयमा असन्तुष्ट रहेको समाचारमा खुलाइएको छ ।

स्रोतका अनुसार गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले अध्यक्ष दाहालसँग भेटेर सचिव सरुवाबारे असन्तुष्टि जनाएका छन् ।

त्यसलगत्तै प्रेस सेन्टरका नेता र अध्यक्ष दाहालबीचको भेटमा दाहालले सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै सरकार सञ्चालनमा विधि बनाउनुपर्नेमा जोड दिएका थिए । गत २७ फागुनमा अध्यक्ष दाहालले प्रधानमन्त्रीओलीलाई विश्वासको मत व्यक्त गर्दै पटकपटक सरकारलाई भाषणभन्दा पनि एक्सनमा उत्रन आग्रह गरेका थिए । उनले आफ्नो मन्तव्यमा आधा दर्जन बढीपटक सरकारलाई एक्सनमा उत्रन सचेतसमेत गराएका थिए । त्यसको झन्डै महिना दिनपछि दाहालले सरकार सञ्चालनमा विधि आवश्यकता रहेकोमा जोड दिएका हुन् ।

अध्यक्ष दाहालले एमाले र माओवादीबीच ५०–५० कै अनुपातमा पार्टी एकता हुनुपर्ने अडान पुनः दोहो¥याएका छन् । प्राविधिक रूपमा गरिने एकता ठूलो विषय नभएको भन्दै विचार, राजनीति र दर्शनको एकता हुनुपर्नेमा उनको जोड थियो ।

दाहालले को ठूलो, को सानो दल भन्ने विषय इतिहासका कालखण्डमा फरकफरक भएको भन्दै ५०–५० कै अनुपातमा अहिले एकता हुनुपर्नेमा एमाले अध्यक्ष शर्मा पनि सकरात्मक रहेको समेत उनले बताएका थिए । ‘२०६४ सालमा हामी पहिलो पार्टी भयौं, २०७० सालमा उहाँहरू हुनुभयो, यस्तो शृंखला चलिरहन्छ त्यसैले एकता ५०–५० कै अनुपातमा हुनुपर्छ ।’

माओवादी केन्द्रले एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने स्पष्ट पारेको छ । अध्यक्ष दाहालले एकीकृत पार्टीको सूर्य चिह्नमा सहमति हुन नसक्ने बताएका छन् । दाहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन् । ‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेशजस्तो हुन्छ, दाहालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘विगतमा एमालेले पनि सूर्यभित्र हँसिया हथौडा राखेकै हो, झन्डाहरूमा सूर्यभित्र हँसिया हथौडा राखेर प्रयोग पनि गरेकै हुन्, त्यसैले उहाँहरूले सूर्यभित्र हँसिया हथौडा राख्ने विषयमा असहमति जनाउनुहुन्छजस्तो लाग्दैन, अब चाँडै नै एकताको खाकामा अन्तिम सहमति हुन्छ ।’ दाहालले जनयुद्धको विषयमा भने कुरा मिलेको बताएका थिए । जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जनाएका थिए ।

तपाइको मत