बिराटनगर । नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा सुधार गरेको छ ।
नोबेलले इमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । आकस्मिक कक्षमा २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले ९ जना स्वास्थ्यकर्मी ‘इमर्जेन्सी रेस्पोन्स टिम’का रुपमा परिचालन गरिएको भन्दै इमर्जेन्सीमा २ जना बिरामी बराबर एकजना नर्सिङ स्टाफ खटाइएको जानकारी दिइन् ।
आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भए सर्तनामा गराएर उपचार गराउन सकिने भन्दै शर्माले बिरामीको अवस्थाअनुसार तत्काल शल्यक्रिया वा सघन उपचारका लागि अस्पतालले प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।
न्यूरो सम्बन्धी बिरामीका लागि न्यूरोका छुट्टै टिम पनि परिचालन गरिएको इमर्जेन्सी इन्चार्ज डा.अमितकुमार अग्रहरीले बताए ।
इमर्जेन्सीमै भेन्टिलेटरसहितको आईसीयू कक्षको पनि व्यवस्था मिलाइएको भन्दै डा.अग्रहरीले २४ सै घण्टा विशेषज्ञ डाक्टरसहितको टिम खटिरहने जानकारी दिए ।
अस्पतालले आकस्मिक कक्षको सेवालाई थप सुधार गरी इसीजी, ल्याब परीक्षण, अल्ट्रासाउण्ड, एक्सरे लगायतको व्यवस्था मिलाएर उपचारमा सहज, छिटो, छरितो र गुणस्तरीय बनाइएको जनाएको छ ।
नोबेलले इमर्जेन्सी सेवामा सुधार गरेपछि उपचारमा सहज भएको बिरामी र बिरामीका आफन्तले समेत बताएका छन् ।
उपचारका लागि आमालाई नोबेल लिएर आएका सुनसरी ईनरुवाका शिशिर दत्तले इमर्जेन्सी सेवामा गरिएको सुधार र उपचारको व्यवस्था राम्रो लागेको प्रतिक्रिया दिए ।
त्यसैगरी मोरङको पथरी शनिश्चरेका लालबहादुर बुढाथोकीले पनि इमर्जेन्सी सेवामा सुधार पाएकाले उपचारमा धेरै सहज भएको बताए ।
नोबेलले इमर्जेन्सी आउने बिरामीहरुका लागि अस्पतालको गेट देखिनै स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरेर सेवालाई थप प्रभावकारी बनाएको छ ।















