१६ असार ०७६, सप्तरी । पहिलो महिला सप्तरी प्रिमियर लिगको उपाधि सुरुंगा नगरपालिकाले चुमेको छ ।
सोमवार सम्पन्न फाईनल खेलमा रुविना क्षेत्री र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले खडक नगरपालिकालाई सजिलै १० बिकेटले पराजित गर्दै सुरुंगा नगरपालिकाले उपाधि चुमेको हो ।
खडकका लागि रश्मी शर्माले उत्कृष्ट खेल्दै ६२ बलमा ५ चौकाको मद्दतले ६२ बलमा नटआउट रही ५० रनको योगदान दिएका थिए भने काजल श्रेष्ठले २० र सरस्वती चौधरीले अविजित रही १७ रनको योगदान दिएका थिए । बलिंगतर्फ सुरुंगाका लागि एक मात्र बिकेट संगिता राईले लिएका थिए ।
१ सय ५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुंगाले सुरुवात देखिनै आफनो लय देखाउदै १५ ओभर ४ बलमै उक्त स्कोर भेटाएका थिए ।
सुरुंगाका लागि कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिंग गर्दै ५२ बलमा ७ चौक्का र १ छक्काको मद्दतले नटआउट रही ६३ रन तथा अफसरी बेगमले ४२ बलमा ४ चौक्काको मद्दतले नटआउट रही ३६ रनको योगदान दिएका थिए । खेलको प्लेयर अफ द म्याच सुरुंगाकातर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने कप्तान रुविना क्षेत्री भएका थिए ।
सुरुंगा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्धारा गत १३ गतेदेखि सञ्चालित प्रतियोगितामा ३ टोलीको सहभागिता रहेको थियो ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रम सुरुंगा नगरपालिकाका उपमेयर बिन्दा पासवान, अन्र्तगत सेभ द चिल्ड्रेनका रचना थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, सचिव चन्दन यादव, पुर्व प्रशिक्षक राजकुमार दास, अम्पाएर संघका अध्यक्ष निरज सिंह लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गर्ने ईमरजिंग प्लेयर अन्र्गत खडकका माधवी चौधरीलाई नगद ५ हजार, बेष्ट व्याट्सम्यान सुरुंगाका रुविना क्षेत्रीलाई ५ हजार, बेष्ट बौलर खडकका कविता गौतमलाई ५ हजार तथा म्यान अफ द सेरिज सुरुंगाका अपसरी बेगमलाई १५ हजार नगद सहित ट्रफी तथा प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।
बिजेता टोली सुरुंगालाई ५१ हजार नगदसहित ट्रफी तथा प्रमाण–पत्रसहित सम्मान गरिएको थियो भने उपबिजेता टोली खडकलाई ३१ हजार नगदसहित ट्रफी तथा प्रमाण–पत्र बितरण गरिएको थियो ।
सप्तरी क्रिकेट संघद्धारा नेपाली महिला क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई नेपाली महिला क्रिकेट क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ र सचिव चन्दन कुमार यादवद्धारा हस्ताक्षरित कदर पत्र सहित खादा ओढाई सम्मान गरिएको थियो ।













