२५ असोज ०७६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज अपरान्ह ०४ः३० देखि ०५ः३० बजेभित्र नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ समकक्षी सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी शनिबार अपराह्न ०४ः३० देखि ०५ः३० बजेभित्र विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।
सरकारले राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सम्मानका साथ स्वागत गर्ने तयारी गरेको छ ।
राष्ट्रपति सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्नेछन् ।
त्यसपछि सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । सो भेटवार्तापछि सी राष्ट्रपति भण्डारीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने कार्यतालिका रहेको छ ।
परराष्ट्र मन्त्रालयकाअनुसार आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल बीच औपचारिक भेटवार्ता हुनेछ । भने, राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
राजकीय भ्रमणका क्रममा सीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभिन्न राजनीतिक दलका नेतासँग शिष्टाचार भेट गर्नु हुनेछ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरण गर्ने बताएका छन् ।













