२५ असोज ०७६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले हामीले बनाउने योजनाहरूलाई पुरा गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् ।
दुईदिने राजकीय नेपाल भ्रमणमा रहेका राष्ट्रपति सीले होटल सोल्टीमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोज अघि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘हामीले बनाएका योजनाहरूलाई पुरा गरेरै छाडौं । हामीले चीनमा यस्तै गरेका छौं’ राष्ट्रपति सीले अगाडि भने, ‘केरुङ–काठमाडौं सुरुङ मार्ग अघि बढाउन सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्नेछौं ।’
अरनिको राजमार्गलाई सुनिश्चित गराई विभिन्न चरणमा स्तरोन्नती गर्ने, सीमापार सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने भन्दै सीले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा चिनियाँ पर्यटकहरूलाई नेपालमा आउन उत्प्रेरित गर्ने पनि बताएका छन् ।
‘नेपाल भ्रमण वर्षको अवसरमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपालमा आउन उत्प्रेरित गर्नेछौं ।’ सीले भनेका छन्, ‘दुई देशका बढीभन्दा बढी सहरहरूलाई भगिनी सहरका रुपमा सम्बन्ध स्थापित गर्न पनि उत्प्रेरित गर्नेछौं । जसबाट दुई देश बीचको मित्रताको अङ्कुरन होओस् भन्ने चाहन्छौं ।’
उनले भुकम्पपछि पुनर्निर्माणको परियोजनाहरूलाई सक्रियतापूर्वक अगाडि बढाएको भन्दै शैक्षिक तथा सांस्कृतिक क्षेत्रका सहकार्यहरूमा लगानी पठाएर जनताबीचको समझदारी बढाउने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी नेपालको लुम्बिनी बुद्धको जन्मस्थल हो भन्दै उनले अहिले चीन संसारको सबैभन्दा बढी बौद्धमार्गी भएको देश भएको पनि बताए । साथै, बौद्ध धर्म भारत र नेपालमा लोकप्रिय रहे पनि अहिले यो चीनमा स्थानीयको धर्म बनेको बताउँदै आगामी दिनमा नेपालमा बढीभन्दा बढी बौद्ध धर्म मान्नेहरू नेपालमा पर्यटकका रुपमा र धर्मको आदान–प्रदानका लागि आउने बताए ।
राष्ट्रपति सीले दुबै देशले बहुपक्षीय सहकार्य गर्ने भन्दै जलवायु परिवर्तनप्रति नेपाली पक्षको चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको र जलवायु परिवर्तन सम्बन्धी नेपाली पक्षको उपयुक्त मागहरूलाई सम्बोधन गर्न पहल लिने बताए ।
यस भ्रमणमा नेपाली नेताहरूसँग मिलेर चीन–नेपाल बीचको सम्बन्धको नयाँ खाका योजनाहरू बनाउन सकेकोमा अत्यन्तै खुसी लागेको पनि बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय सम्बन्ध र चासोको बारेमा बिचारको आदानप्रदान गर्ने बताउँदै सीले काम गर्ने पाटो स्पष्ट रहेकाले त्यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै भनेका छन्, ‘हामी संयुक्त प्रयासद्वारा दुईपक्षीय सम्बन्धको नयाँ भविष्य निर्माण गरौं ।’
तस्बिर : एस्बी थापा
















