२६ असोज ०७६, काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ ।
नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ र नेपालका सरकार प्रमुखको तहमा प्रतिनिधिमण्डलस्तरीय दुईपक्षीय औपचारिक वार्ता सम्पन्न भएको हो ।
चीनका राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीले आ-आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर उच्चस्तरीय वार्ता भएको थियो ।
वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्ने सम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो ।
















