काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नागरिकता विधेयकको विरोध प्रदर्शन मोड्न भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्ने बताएका छन् ।
भारतले हिन्दु राष्ट्रवादलाई बढावा दिन आन्दोलन भड्काउन चाहेको इमरान खानको आरोप छ । यदि भारतले त्यसो गरेमा पाकिस्तानले कडा प्रतिकार गर्ने उनले चेतावनी दिएका छन् ।
यही डिसेम्बर ३१ मा अवकास हुन लागेका भारतीय स्थल सेना प्रमुख विपिन रावतले हालै भारत–पाकिस्तान सीमामा स्थिति खराब हुन सक्ने अभिव्यक्ति दिएसँगै इमरान खानले ट्वीटरमा लेखेका छन्, ‘यदि भारतमा विरोध प्रदर्शन बढेमा पाकिस्तानमाथि भारतको खतरा झन् बढ्छ । भारतीय सेना प्रमुखको बयानले यी आशंकालाई पुष्टि गर्छ ।’
नागरिकता विधेयकविरुद्धको प्रदर्शनले भारतमा जनआन्दोलनको रुप लिइसकेको बताउँदै इमरान खानले पछिल्लो पाँच वर्षदेखि मोदी सरकारको नेतृत्वमा भारत हिन्दु श्रेष्ठता र फासीवादी विचारधारामार्फत् अगाडि बढिरहेको बताएका छन् ।
खानले लेखेका छन्, ‘नागरिकता संशोधन कानुनविरुद्ध भारतीय नागरिक सडकमा छन्, उनीहरू भारतमा विविधता कायम रहोस् भन्ने चाहान्छन् ।’













