१७ पुस ०७६, काठमाडौं । भारत र पाकिस्तान सैनिकबीच बुधबार भएको युद्धमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
गोरखाका अर्जुन थापा मगरको ज्यान गएको हिन्दुस्तान टाइम्सले भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उदृत गदै समाचार लेखको छ ।
जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको पनि ज्यान गएको थियो ।
हिन्दुस्तान टाइम्सका अनुसार, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए । घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएको तर उनको त्यहीँ मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् । साथै उक्त भिडन्तमा भारतीय नागरिक सन्दीप रघुनाथको पनि मृत्यु भएको छ ।
भारतीय सेनाका प्रवक्ता आनन्दले भनेका छन्, ‘राइफलम्यान मगर धेरै बहादुर, आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दर सैनिक थिए । ती बहादुर सिपाहीको वीरगतिले भारतीय सेना शोकमा छ ।’
भारत-पाकिस्तानबीचको युद्धमा गोर्खा रेजिमेन्टमा कार्यरत गामिल कुमार श्रेष्ठको गत कार्तिक महिनामा मृत्यु भएको थियो ।














