२ बैशाख ०७७, काठमाडौं । भारत सरकारले लकडाउनको अवधि मई ३ (बैशाख २१ गते) सम्मका लागि थप गरेको छ ।
देशबासीलाई मंगलबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको म्याद मई ३ थप गरिएको बताएका हुन् ।
यद्यपि उनले राज्यमा कोरोना संक्रमणको अवस्था हेरेर २० अप्रिलदेखि केही खुकुलो गरिने बताउँदै कोरोना संक्रमण देखा परे उक्त खुकुलोपन नहुने पनि स्पष्ट पारे ।
महाराष्ट्र, राजस्थानसहितका ४ राज्यले यसअघि नै लकडाउनको म्याद थप गरिसकेको छ । महाराष्ट्रपछिको सबैभन्दा बढी प्रभावित दिल्ली, उत्तरप्रदेश, बिहारसहितको राज्य केन्द्रीय सरकारको निर्णय पर्खेको थियो ।
यसअघि प्रधानमन्त्री मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्दा पनि लकडाउन लम्ब्याउने सुझाब आएको थियो ।
प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा भारतमा कोरोना संक्रमित बढेकोप्रति चिन्ता व्यक्त गर्दै लकडाउनको बेला कुनै मजदुरलाई कामबाट नहटाउन, घरका वृद्धको विशेष हेरचाह गर्न, गरीब, विपन्न समुदायलाई सहयोग गर्न देशबासीलाई आग्रह गरेका थिए ।
हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ९ सय ८८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुने संख्या ३३९ पुगिसकेको छ ।













