वर्तमान व्यवस्थाको कार्यशैली राष्ट्रिय पञ्चायतकै जस्तो – सांसद पम्फा भुसाल

“राज्य आफ्ना नागरिकप्रति जिम्मेवार हुनैपर्छ । उनीहरु देशका उर्जाशील नागरिक हुन् । राज्यले व्यवस्था गरेर ल्याउनु पर्छ र राज्यको उत्पादनको क्षेत्रमा लगाउनु पर्छ । जनशक्तिभन्दा ठूलो तागत राज्यको केही हुन सक्दैन् ।”

१९ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले वर्तमान व्यवस्थाको कार्यशैली राष्ट्रिय पञ्चायत, राजतन्त्रात्मक बहुदलीय व्यवस्थाकै जस्तो रहेको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०७७/०७८को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले यस्तो बताएकी हुन् ।

नेतृ भुसालले आफूलाई बोलौं कि नबोलौं लागिरहेको बताउँदै भनिन्, “हाम्रो कार्यशैली र विधिचाहिँ हिजोको राष्ट्रिय पञ्चायत, राजतन्त्रात्मक बहुदलीय व्यवस्था र समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि त्यही छ । बजेट जे पेश भयो प्लस माइनस एक रुपैयाँ हुन्न । नीतिमा जे प्रस्तुत हुन्छ कमा, फूलस्टप पनि चेञ्ज हुन्न ।”

उनले कुनै पनि सुझावअनुसार सुधार नहुने र अर्थ पनि नहुने भएकाले हिजोआज आफूले बोल्न रुचि राख्ने नगरेको समेत बताइन् ।

‘शासकीय मोडल’ नयाँ भए पनि कार्यान्वयनमा जाँदा ‘परम्परागत’ भएको भन्दै सांसद भुसालले भनिन्, “बजेट भनेको सिंगो राज्यको हो, सबैका सकारात्मक कुरालाई अनुशरण गर्न कञ्जुस्याइँ गर्नुहुन्न, परम्परागत विधिको सांगलोमा बाँधिनु हुन्न ।”

कोरोनाका कारण बन्दाबन्दी भएसँगै भारतबाट आएकाहरुलाई जेनतेन राखिएको र अन्य मुलुकबाट आउनेहरुलाई आफ्नो पैसाले आउ भन्नु सरकारको गैरजिम्मेवारीपन भएको पनि उनले बताइन् ।

“लाखौं युवाहरु बाहिर छन्, भारतबाट संकटको सामना गर्दै भित्रिएका छन् । उनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई बजेट दिनुपर्छ किनकि त्यहाँ बजेट छैन्,” उनले भनिन्, “यसबाट संघ पन्छिन पाउँदैन् । भारत बाहेक तेस्रो विश्वबाट आउने चाहनेलाई आउन नदिने, उता जागिर गयो; अलिअलि कमाएको दुई महिनासम्म खाए, अब आफ्नो पैसाले आउ भन्ने कुरा जस्तो गैरजिम्मेवार कुरा केही हुँदैन् । राज्य आफ्ना नागरिकप्रति जिम्मेवार हुनैपर्छ । उनीहरु देशका उर्जाशील नागरिक हुन् । राज्यले व्यवस्था गरेर ल्याउनु पर्छ र राज्यको उत्पादनको क्षेत्रमा लगाउनु पर्छ । जनशक्तिभन्दा ठूलो तागत राज्यको केही हुन सक्दैन् ।”

राज्यले आफ्ना नागरिकलाई फिर्ता ल्याउन बोझ होइन् दायित्व ठान्नु पर्ने उनले बताइन् ।

सांसद भुसालले बजेटमा भूमि सुधारको कुरा छाडेर भूमि बैंक ल्याउनु सही नभएको साथै विद्युतीय गाडी र सामग्रीमा कर बढाउने कुरा गलत भएको बताइन् ।

‘भूमि सुधारको कुरा छाडेर भूमि बैंक ल्याउने कुरा ठीक छैन,’ उनले भनिन्, ‘विद्युतीय गाडी र सामग्रीमा कर बढाउने कुरा गलत भएको छ ।”

भिडियो लिङ्क

https://hr.parliament.gov.np/np/video/4383