३ असार ०७७, काठमाडौं । पछिल्लो समय (१५ र १६ जुन) पूर्वी लद्दाखको गाल्भान उपत्यकामा चीन र भारतको सेनाबीच आमने-सामने झडपमा २० जनाको मृत्यु भएको छ ।
भारत र चीनको सेना बीच गाल्भान क्षेत्रमा १५ र १६ जुनको रात झडप भएको थियो । सो झडपमा २० भारतीय सैनिकको मृत्यु भएको पीटीआईले जनाएको छ ।
भारतीय सेनाले मंगलबार ढिलो गरी एक विज्ञप्ति जारी गरेर भारतीय सेना देशको अखण्डता र सार्वभौमिकताको रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै गाल्भान क्षेत्रमा चीन र भारत बीच आमनेसमने हुँदा कर्तव्य पालना गर्नेक्रममा एक भारतीय सैनिक अधिकारी साथै २ सैनिकको मृत्यु भएको बताएको थियो भने दुबै देशका वरिष्ठ सैन्य अधिकारीहरु तनाव कम गर्न संवाद भइरहेको पनि जनाएको थियो ।
यस्तै पूर्वी लद्दाखमा भारत र चीन बीच भएको हिंसात्मक झडपपछि रक्षामन्त्री राजनाथ सिंहले मंगलबार सेना प्रमुखसँग समीक्षा बैठक गरेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उक्त बैठकमा विदेशमन्त्री एस जयशंकर पनि उपस्थित रहेको थिए ।
सो झडपमा चीनतर्फ पनि हताहत भएको बताइएको छ । तर, बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन् । समाचार संस्था एएफपीका अनुसार चीनले भारतलाई सीमा उल्लङ्घन गरेर चिनियाँ सैनिकमाथि आक्रमण गरेको आरोप लगाएको छ ।
चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ ।













