थप एक जना कोरोना संक्रमितको मृत्यु, कूल मृत्यु हुने संख्या २९ पुग्यो

१५ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले रौतहट जिल्ला, फतुवा विजयपुर ७ का ३० वर्षीय युवाको गएराति मृत्यु भएको बताएका हुन् ।

उनले असार १३ गते स्वासप्रश्वासमा समस्या भएका कारण ललितपुरस्थित स्टार अस्पतालको आइसीयुमा भर्ना भएका उनको स्वाब परीक्षणका लागि त्यही दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा निजको १३ गते राती नै मृत्य भएको बताए ।

यस्तै ती पुरुषको १४ गते साँझ कोरोना पुष्टि भएको जानकारी दिँदै उनले ती पुरुष तीन महिनादेखि फोक्सोको समस्या कारण विभिन्न अस्पतालमा उपचार गरेको पनि बताए ।

उनले मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको पनि जानकारी दिए ।