१३ असार, काठमाडौं । व्यवस्थापिका संसदबाट शिक्षा ऐन पारित हुने बित्तिकै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बधाई दिनेको घुइँचो लागेको थियो । गत जेठ २२ गते ऐन पास भएको भोलिपल्टै खुसीयालीमा शिक्षामन्त्री पोखरेलले सानेपास्थित सिद्धार्थ कलेजमा भव्य रिसेप्सन दिएका थिए ।
अधिकांशले मन्त्रीलाई बधाई मात्र होइन यसको मुख्य श्रेय मन्त्रीको भएको भन्दै अब शिक्षामा ठूलो परिवर्तन हुने अपेक्षा राखेका थिए । तर, ऐन पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर नलागेपछि मन्त्री मात्र होइन शिक्षा मन्त्रालयका अधिकांश पदाधिकारी निराश देखिन थालेका छन् ।
पछिल्लो समय एमालेका सांसदहरुले ऐनमा केही परिवर्तन गर्नु पर्ने जनाउँदै सार्वजनिक रुपमा बोल्न थालेपछि प्रमाणीकरण हुने विषय शंकाको घेरामा परेको छ ।
लामो समय संसदको महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितिले छलफल गरी संसदमा पेस गरेको ऐन पारित भएपछि सबै दलका सांसदहरु खुसी देखिएका थिए ।
‘एमालेबाटै चुनिएकी राष्ट्रपति भण्डारीलाई प्रभावमा पार्न ऐन रोक्ने चलखेल सुरु भइएको विश्लेषण गर्न थालिएको’ नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।













