१२ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १३९ नयाँ कोभिड–१९ संक्रमित पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १३९ नयाँ कोभिड–१९ संक्रमित पुष्टि भएसँगै कूल संक्रमित संख्या १८ हजार ७५२ पुगेको जानकारी दिएका हुन् ।
हाल आइसोलेशनमा ४ हजार ९५० जना बिरामी रहेको र क्वारेन्टाइनमा १६ हजार ३७१ जना आशंकित रहेको पनि बताए ।
कोरोना संक्रमित तीनको निधन
यसैगरी उनले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १० निवासी ६५ वर्षीय पुरुष (कोरोना संक्रमित भारतीय नागरिक) मुटुुरोगी समेत रहेका मधुमेहका बिरामीको साउन ११ गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको बताए ।
यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया निवासी ज्वरो, रुघाखोकी र श्वासप्रस्वासको समस्या देखिएका कोरोना संक्रमित ३६ वर्षीय पुरुषको साउन ११ गते निधन भएको उनले जानकारी दिए । साथै, प्रादेशिक अस्पताल जनकपुरमा साउन १० गते आएका उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटोमै निधन भएको बताए ।
यस्तै बारा जिल्ला फेटा गाउँपालिका वडा नं. ३ निवासी ६० वर्षीय पुरुषको साउन १२ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कोरोनाका कारण निधन भएको बताए । ती पुरुष निमोनिया मस्तिष्क घात तथा मृगौलासम्बन्धी रोगबाट ग्रसित रहेको उनले बताए ।













