स्वास्थ्य मन्त्रालयको अपिल : बैठक, गोष्ठी, जमघट बन्द गर्नु, नमिल्ने भए भर्चुअल्ली गर्नु

कोरोना संक्रमितको संख्या २१ हजार ७५०

२२ साउन ०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ८७ सहित देशभर थप ३६० कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै कूल संक्रमित संख्या २१ हजार ७५० पुगेको बताएका हुन् ।

उनले चौबीस घण्टामा ६ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको बताए ।

हाल सक्रिय संक्रमित संख्या ६ हजार २९६ रहेको र क्वारेन्टाइनमा ९ हजार ४७० जना रहेको पनि उनले बताए ।

बैठक, गोष्ठी, जमघट बन्द गर्नु, नमिल्ने भए भर्चुअल्ली गर्नु

उक्त प्रेस ब्रिफिङमार्फत् मन्त्रालयले ‘सरकारी सामुदायिक, निजी अफिस तथा कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्तै बन्द गर्न र बन्द गर्न नमिल्ने भए भर्चुअल्ली गर्न अपिल’ गरेको छ ।

यस्तै भारतीय सीमा क्षेत्रका जिल्लाहरुका कोरोना संक्रमणको दर उच्च रहेकाभन्द्र प्रदेश सरकार, स्थानीय पालिकाहरु, गैरसरकारी संस्थाहरु, शिक्षक–विद्यार्थी तथा अन्य पेशा व्यवसायलाई समेत सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।