२७ साउन ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल (जसपा)को विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलबार एक प्रेस नोटमार्फत् सल्लाहकार थापाले ‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको बताएका हुन् ।
“सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको “…केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको…“ भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ” प्रेस सल्लाहकार थापाले प्रेस नोटमा लेखेका छन् ।
प्रेस नोटमा पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यसस्तरको विज्ञप्ति आउनु कुण्ठाग्रस्त गालीगलौज, सोचको दिवालियापन भएको उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट रहेको भन्दै नोटमा त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेको समेत उल्लेख गरिएको छ ।
राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्ने तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्ध प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नै पर्ने र सो सभ्य समाजको मूल्य र मानक विपरीत रहेको प्रेस सल्लाहकार थापाले प्रेस नोटमा उल्लेख गरेका छन् ।













