नेपाल-भारतबीच दुई देशीय सहयोगमा सञ्चालित परियोजनाबारे छलफल

१ भदौ ०७७, काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल र भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको बताएको छ ।

सोमबार नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी भर्चुल बैठकमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएकोे मन्त्रालयले जानकारी दिएको हो ।

नेपाल–भारतबीच सीमा विवाद बढेसँगै दुई देशीय औपचारिक संवादहीनताको अवस्था रहिरहेकै बेला नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रको बैठक बसेको हो ।

यद्यपि, गत शनिबार भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गर्नेक्रमा भने संवाद भएको थियो ।

सर्वे अफ इन्डियाले १६ कार्तिक २०७६ मा कुटी, गुञ्जी, नाबी, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूमिलाई भारतको नक्सा सार्वजनिक गरेको थियो भने नेपालले पनि आफ्नो नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि दुई देशबीच संवादहीनताको अवस्था रहेको थियो ।