सेनाको पश्चिम पृतनाका ५१ सैनिकमा कोरोना संक्रमण पुष्टि

१० भदौ ०७७, बाँके । नेपाली सेनाको पश्चिम पृतना शिक्षालय व्यारेकबाट एक सय जनाको स्वाब संकलन गरेर कोभिड-१९ परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेमा बुधबार ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनले भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी एकैदिन कूल ७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

उनले भेरी अस्पतालमा गरिएको परीक्षणमा भेरी अस्पतालका एकजना डाक्टर, नेपाल टेलिकमका कर्मचारी साथै स्वास्थ्यकर्मी समेतमा कोरोना पुष्टि भएको बताउँदै बाँकेमा कोरोना संक्रमितको कूल संख्या ९ सय ४२ पुगेको बताए ।

यस्तै बाँकेमा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या पाँच पुगेको समेत उनले जानकारी दिए ।