नक्कली कागजात तयार गरी व्यक्तिको नाममा दर्ता जग्गा बदर, सरकारी कायम गरियो

१३ भदौ ०७७, सिरहा । मालपोत कार्यालय सिरहामा नक्कली कागजात तयार गरी व्यक्तिको नाममा दर्ता गरिएको जग्गा सरकारी कायम गरिएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलले नक्कली कागजात तयार गरी व्यक्तिको नाममा दर्ता गरिएको जग्गा सरकारी कायम गरिएको जानकारी दिए ।

उनले भने, “विनोदकुमार यादव, गा.वि.स. अयोध्यानगर वडा नं. ७, राम खेलावन यादव, गा.वि.स. थल्हाकटहा वडा नं. २ र विरेन्द्र कुमार यादव गा.वि.स. सितापुर प्र.रा. वडा नं. ६ बस्ने ३ जना समेतको संयुक्र नाममा दर्ता भएको जिल्ला सिरहा गा.वि.स. चन्द्रोदयपुर वडा नंं ७ ख कि.नं. २४९ ज.वि. ०–१३–१० जग्गा २०७७/०४/२७ को निर्णयबाट बदर भई सरकारी कायम गरिएको छ ।”

यस्तै सुकुम्बासी समस्या समाधान आयोगद्वारा २०५८ मा पूर्व–पश्चिम राजमार्गको २–७–१५ जग्गा एकै व्यक्तिलाई दर्ता गराई पुनः नामसारी गरी दिएकोमा बनक्षेत्र कायम गरिएको छ ।

नेपाल पत्रकार महासंघका प्रदेश संयोजक देवकुमार यादवले सुकुम्बासीको नाममा हुकुम्बासीलाई वितरण गरिएको जग्गा फिर्ता गराउन सफल सिरहाका प्रमुख जिल्ला अधिकारीलाई साधुवाद भन्दै पर्दापछाडि रहेका पात्रहरू, कानुनी कठघरामा उभ्याउनु पर्ने बताएका छन् ।

“सरकारी जग्गा जमिन त्यो पनि बन क्षेत्रको । सुकुम्बासीको नाममा हुकुम्बासीलाई वितरण गरेर करोडौं रकमको चलखेल” यादवले भनेका छन्, “एउटा सिडीओले चाहेपछि फिर्ता गराउन सक्दोरहेछ । सिरहा चोहर्वाको करिब २ विगाहा जग्गा सरकारकै नाममा फिर्ता गराउन सफल सिडिओ साहेबलाई साधुबाद ! पर्दा पछाडिका पात्रहरू, गैरकानुनी कार्यमा संलग्न सुकुम्बासी समस्या समाधान आयोगका पदाधिकारीहरु, श्रेस्ता मिलान गर्ने कर्मचारीहरुलाई कानुनी कठघरामा उभ्याउने कार्यमा जुटौं !”