२१ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा २ जना महिलासहित ९ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गएको चौबीस घण्टामा दुई महिला र सात जना पुरुष गरी ९ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या २८९ पुगेको छ ।
प्रवक्ता गौतमले कोरोनाबाट निधन हुने महिलाहरुमा मोरङको ६४ वर्षीया एक महिला र झापाको ४५ वर्षीया रहेको बताए ।
यस्तै मोरङको ४५ वर्षीय पुरुष, पर्साको ७७ वर्षीय पुरुष, धनुषाको ३५ वर्षीय पुरुष साथै काठमाडौंको ७४, ६८ र ८५ वर्षीय पुरुष र चितवनको ७० वर्षीय पुरुषको कोरोनाबाट निधन भएको उनले बताए ।













