संविधान दिवस : सन्दर्भ एक, अभिव्यक्ति अनेक

४ असोज ०७७, काठमाडौं । छैटौं संविधान दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

सरकारले असोज ३ गते अर्थात् शनिबार बिहान छैटौं संविधान दिवस ‘राष्ट्रिय दिवस’को रुपमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ ।

यस्तै नागरिक समाजले भर्चुअल बैठक गरेर संविधान दिवस मनाएको छ भने विभिन्न राजनीतिक दलले समर्थन र विरोध साथै सरकारको कामको आलो्चना गरेर यो दिवस मनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टुडिखेलमा आयोजित विशेष समारोहमा नेपाल सरकार तथा आफ्नो तर्फबाट मुलुक भित्र र मुलुक बाहिर रहेका सबै नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गदै कोभिड–१९ को महामारी, प्राकृतिक विपत्तिका बीच सरकारले महामारीलाई चुनौतिका रुपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गर्नेगरी चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको बताए ।

उनले कोरोना महामारी नियन्त्रणका लागि चालिएका अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिएको बताए ।

“अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्,” उनले भने, “कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ ।”

२०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको भन्दै हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेको पनि बताए ।

यस्तै परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि रहेको साथै शुरुको समयमा प्रतिपरीक्षण लागत रु ८ हजार ५ सय रहेकोमा हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा २ हजार रुपैंयामा परीक्षण हुन थालेको पनि बताएका थिए । साथै, पहिले आइसियू बेड क्षमता १ हजार ५५१ रहेकोमा अहिले २ हजार ६०० र पहिले भेन्टिलेटर संख्या ७७० रहेकामा अहिले ९०० पु¥याइएको बताए ।

प्रधानमन्त्री ओलीले विगत तीन बर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको समेत सम्बोधनको क्रममा बताए ।

छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा “पोहोर साल यो संविधान र व्यवस्थाको मात्रै होइन, राष्ट्रिय अखण्डताकै विकल्प खोज्छु भन्ने शक्ति निःशर्त राजनीतिक मूलधारमा समावेश भएको” उनले भने, “हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दलरसमूहहरु राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं ।”

संविधानको पालना सरकारले नै गरेन

यसैबीच नागरिक समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा नागरिक समाजका अगुवाहरुले भने वर्तमान संविधान देशको मूल कानून भए पनि सरकारले नै सोही कानुनको पालना नगरेको भन्दै सरकारकै आलोचना गरेका थिए ।

जनताले आशा र विश्वास गरेको वर्तमान सरकारले नै आम नागरिकलाई कानुनीराजको अनुभूति दिलाउन नसकेको, कोरोना महामारीको फाइदा उदाउँदै स्वास्थ्य सेवासँग सम्बन्धित दलालहरु कमाउधन्दामा लागिरहेको, भ्रष्टाचार बढिरहेको साथै दैनिकीमै समस्या भएपछि नागरिकहरुले आत्महत्या गर्नेक्रम बढिरहेको अवस्थामा समेत सरकारले जनतालाई सामान्य राहतको व्यवस्था समेत गर्न नसकेको भन्दै सरकारको कटाक्ष समेत गरेका थिए ।

संविधान दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रम तारालाल श्रेष्ठको मुख्य संचालनमा भएको थियो भने नागरिक समाजका अगुवाहरु भैरव रिसाल, स्वनाम साथी, श्याम श्रेष्ठ, विद्यानाथ कोइराला, गणेश विके, उषा सडकछाप, लक्ष्मी गुरुङ, कुमारी लामा, एसबी थापा मगर, बिमल प्रसाद पौडेल, गोपाल बाबु मरहट्टा, रोहेज खतिवडा, असोज महर्जन, बलदेव भट्ट लगायत ९० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

संविधानले प्रत्याभूत गरेका अधिकार ऐन बनाउँदा खोसिए

फाइल तस्विर ।

यस्तै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय कानून व्यावसायी एसोसियसनद्वारा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै संविधानले प्रत्याभूत गरेका अधिकार पनि ऐन बनाउँदा खोसिएको बताएका छन् ।

कानून मन्त्रीको हैसियतले आफूले आयोग गठनको माग गर्दा वर्तमान सरकारमा भूकम्प गएको पनि उनले बताएका थिए ।