थप १९ जना कोरोना संक्रमितको निधन, कूल ५५४

१९ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा दुई हजार ४४० जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा २३ हजार ५०७ जना र क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेको उनले बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा एक हजार १३३ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ६५ हजार २०२ जना पुगेको जानकारी दिए ।

यस्तै उनले थप १९ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ५५४ पुगेको छ ।