सरकारको उदासिनता र रोजगारदाताको अकर्मण्यताले श्रमजीवी मजदुरको विश्वासमा तुसारापात – अन्टुफ अध्यक्ष

१० मंसिर ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगत सिम्खडाले सामाजिक सुरक्षा दिवस–२०७७ को पूर्वसन्ध्यामा सरकारको उदासिनता र रोजगारदाताहरुको अनिच्छा साथै अकर्मण्यताका कारण श्रमजीवी मजदुरहरुको आशा र विश्वासमाथि तुसारापात भएको बताएका छन् ।

बागमती प्रदेश सांसद समेत रहेका अध्यक्ष सिम्खडाद्वारा बुधबार जारी गरिएको शुभकामना सन्देशमा सरकार र रोजगारदाताले सामाजिक सुरक्षा ऐन कार्यान्वयन र श्रम ऐनको मजदुर विरोधी दफा खारेजीमा तत्परता नदेखाए मजदुरहरुको हक अधिकार स्थापित गराउन सशक्त आन्दोलनमा जान बाध्य हुने भन्दै यस्तो उल्लेख गरिएको छ ।

“सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न सरकारको उदासिनता र रोजगारदाताहरुको अनिच्छा र अकर्मण्यताले श्रमजीवी मजदुरहरुको आशा र विश्वासमाथि तुसारापात भएको छ”, सन्देशमा भनिएको छ, “सरकार र रोजगारदाताले ऐन कार्यान्वयनमा यही प्रकारको उदासिनता देखाइरहे हाम्रो संगठन संयुक्त वा एकल रुपमा श्रम ऐनको दफा १४५ लगायत मजदुर विरोधी दफाहरुको खारेजी र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउन कोभिड–१९ को प्रभाव सामान्यीकरण भएसँगै सरकारको नारामुखी तर व्यवहारविमुखी कार्यक्रमको भण्डाफोर गर्दै संविधानको मर्मअनुसार आएको सामाजिक सुरक्षा कोष कार्यान्वयन साथै मजदुरहरुको हक अधिकार स्थापित गराउन सशक्त आन्दोलनमा जान बाध्य हुनेछौं ।”

यस्तै सामाजिक सुरक्षा कोषमा सरकारको कुनै प्रकारको योगदान नरहेको हुँदा मजदुरहरुमा खुसीयाली हराउँदै गइरहेको र सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा जान नसकेको समेत अन्टुफको निष्कर्ष रहेको सो सन्देशमा उल्लेख छ ।

सामाजिक सुरक्षा दिवस–२०७७ (तेस्रो वर्ष)को अवसरमा भोलि मंसिर ११ गते बिहान ११ बजे सामाजिक सुरक्षा कोषको आयोजनामा प्रधानमन्त्री केपी शर्मा आलीले भर्चुअल कार्यक्रममार्फत् सम्बोधन गर्ने सरकारको तयारी रहेको छ ।